प्रथम नीलकण्ठ मेयर फुटसल कप बुधबारदेखि धादिङबेशीमा सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले प्रजातन्त्र दिवसको अवसर पारेर अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगिताको उद्घाटन समारोहको सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले `खेलकुद, साहित्य, कला, संस्कृति, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको विकासमा नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।
`स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अब मित्रताका लागि पनि खेलकुद बनेको छ । नगरपालिकाले जिल्लाभर रहेका पालिका र सरकारी कार्यालयहरु समेतलाई एकै ठाउँ भेट गरेर खुसी साट्ने वातारवण बनाएको छ। पुरस्कार भन्दा पनि सम्बन्ध सुमधुर बनाउनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ फुटसल एकेडेमीमा सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी छन् ।
प्रतियोगितामा विजयी हुनेले नगद १ लाख १ हजार १११, द्धितिय हुनेले ५१ हजार १११, तृतिय हुनेले २५ हजार र सान्त्वना हुनेले २० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ६–६ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै सहभागी हुन पाउँछन् । नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिका स्तरीय (जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने) फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । यस वर्ष भने प्रथम नीलकण्ठ मेयर फुटसल कपको नाम दिएर प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिता फागुन १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।