प्रथम नीलकण्ठ मेयर फुटसल कपको उपाधि नीलकण्ठ नगरपालिकाले जितेको छ ।
रुवीभ्याली गाउँपालिकालाई ६–३ गोल अन्तरले पछि पार्दै आयोजक नीलकण्ठ नगरपालिकाले उपाधि हात पारेको हो । त्यस्तै रुवीभ्याली गाउँपालिका उप विजेता बनेको छ भने धादिङ अस्पताल तेस्रो र गोर्खा नगरपालिकाले चौथो स्थान हासिल गरेको हो ।
उपाधि विजेता नीलकण्ठ जायन्ट्सले नगद १ लाख १ हजार १११ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः ५१ हजार १११ रुपियाँ, २५ हजार र २० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै विधागततर्फ नीलकण्ठ जायन्ट्सका रवि भण्डारी सर्वाधिक गोलकर्ता (३३ गोल), उत्कृष्ट डिफेन्डर सरोज पाण्डे र उत्कृष्ट गोलरक्षक बल बहादुर तामाङ घोषित भएका छन् ।
उत्कृष्ठ खेलाडी भने धादिङ अस्पतालका डाक्टर जीवन घिमिरे घोषित भएका छन् । विधागततर्फ उत्कृष्ठ खेलाडीहरुलाई नगद ६–६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न अन्तरपालिका स्तरीय फुटसल प्रतियोगितामा १८ समूहले सहभागीता जनाएका थिए ।
नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिका स्तरीय जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने गरि फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । यस वर्ष भने प्रथम नीलकण्ठ मेयर फुटसल कपको नाम दिएर प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको समापन समारोहको सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले नीलकण्ठमा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । ‘नीलकण्ठ नगरपालिकाले गीत संगीत, साहित्य, खेलकुद लगायत धेरै खालका प्रदेश तथा राष्ट्रिय स्तरका कार्यक्रमहरु गदै आएको उहांले बताउनुभयो ।