धादिङमा भिरबाट ट्यांकर खस्दा दुई जनाको मृत्यु

बुधबार, फाल्गुण १४, २०८१

theme

धादिङको गुप्तेश्वरमा गए राति शिवरात्री मेला लाग्ने स्थलमा खानेपानी लिएर  जाँदै गरेको ट्यांकर भिरबाट खस्दा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । धादिङको प्रसिद्ध गुप्तेश्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बाप्र-०१-००४क ३३५२ नम्बरको पानी बोकेको ट्यांकर खसेको हो ।

राति करिब साढे ११ बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटना भएको खबर पाएसँगै सदरमुकाम धादिङबेंसीबाट गएका सोसल भोलिन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेंसीस्थित धादिङ अस्पतालमा पठाएका थिए भने अहिले थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

ट्यांकर अफ्ट्यारो भिरमा खसेको र भिरमा अड्किएको शव निकाली पोस्टमोर्टमका लागि गजुरी पठाउने तयारी गरेको उद्धारकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । मृतकहरूको सनाखत हुन बाँकी छ भने दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
उक्त ट्यांकरका चालकले गाडी फर्काउन पछाडि ल्याउने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाँचेको प्रहरीलाई बताएका छन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका घाइतेहरूको अवस्था मध्यम रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :