धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-५ थापाकटेरीमा आफ्नै छोराले आमाको हत्या गरेका छन् ।
३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
प्रहरी उपरिक्षक रिजालका अनुसार यमबहादुर कंडेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको छ । आइतबार राति ९ बजे पक्राउ गरिएको हो । प्रहरी घटनास्थल पुग्दा आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएको थियो । हतियार बोकेर बाहिर हिँडिरहेको यमबहादुर पछि घरभित्र छिरेपछि उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो ।
आफ्नै आमालाई किन त्यसरी हत्या गर्यो भन्ने कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको रिजालले बताउनुभयो ।