धादिङबोशीमा रहेको एडभान्स एकेडेमीले शैक्षिक सत्र २०८२ अन्तर्गत आयोजना गरेको १९औँ एडभान्स स्पोर्ट फेस्टिवलको उद्घाटन सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यालयका अतिथिहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खालीले गर्नुभयो भने सञ्चालन भाइस प्रिन्सिपल नवीन थपलियाले गर्नुभयो।

उद्घाटन समारोहको सभापतित्व संस्थापक प्रिन्सिपल भीमबहादुर श्रेष्ठले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गोर्खालीले विद्यालयले शिक्षासँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा समान ध्यान दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई आत्मसात् गर्दै विद्यालयले खेल क्षेत्रमा उत्कृष्ट उदाहरण प्रस्तुत गरिरहेको उहाँको भनाइ थियो। खेल संयोजक कृष्ण गुरुङका अनुसार, यस वर्षको फेस्टिवलमा ७२ भन्दा बढी खेलहरू सञ्चालन हुने छन् र करिब ८७२ पदकका लागि विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ।

विद्यालयले विद्यार्थीहरूमा लुकेको क्षमता र प्रतिभा खेलकुदमार्फत उजागर गर्न निरन्तर प्रयास गरिरहेको उहाँले बताउनुभयो। कार्यक्रमका सभापति तथा संस्थापक प्रिन्सिपल भीमबहादुर श्रेष्ठले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, खेल भावना र समूहगत कार्यसंस्कृति विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले विद्यालयले शिक्षाको गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा पनि अग्रणी भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। फेस्टिवलको अर्को विशेष आकर्षणका रूपमा यस वर्ष अभिभावकहरूका लागि पनि प्यारेन्स गेम समावेश गरिएको छ। यसले विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहयोग र आत्मीयता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

ईसीए कोअर्डिनेटर तथा भाइस प्रिन्सिपल सुनिताका अनुसार, १९औँ एडभान्स स्पोर्ट फेस्टिवल असोज ३० गतेसम्म सञ्चालन हुनेछ। विद्यालयले खेलकुद र शैक्षिक गतिविधिलाई सन्तुलित रूपमा अघि बढाउँदै विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।