रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ लिस्नेको भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।
हिजो बेलुकी सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा आठबिसकोट नगरपालिकाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, १४/१५ वर्षकी कल्पना नेपाल र २८ वर्षकी सबिता विकको ज्यान गएको हो । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।