१३ कार्तिक ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारका आठ जना अपाङ्गता भएका व्यक्तिहरूलाई विद्युतीय ह्विलचियर वितरण गरिएको छ। धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टक बहादुर रुवालीको समन्वयमा उक्त सहयोग प्रदान गरिएको हो।
पूर्ण अपाङ्गता भएका र घरमै बस्न बाध्य नागरिकहरूलाई सहज गतिशीलता उपलब्ध गराउने उद्देश्यले ह्विलचियर वितरण गरिएको धादिङ नेपाली समाज अमेरिका अध्यक्ष रुवालीले जानकारी दिनुभयो। उहाँका अनुसार, विदेशमा रहेका नेपाली समुदायले संकलन गरेको सहयोग रकममार्फत आधुनिक रिचार्जेबल ह्विलचियर उपलब्ध गराइएको हो ।
विद्युतीय ह्विलचियर एकपटक चार्ज गरेपछि १५ किलोमिटरसम्म सञ्चालन गर्न सकिने र प्रयोगकर्ताले बिना सहायताका स्वतन्त्र रूपमा चलाउन सक्ने बताइएको छ।

सहयोग पाउनेमध्ये लुरे विक, अम्बिका रिजाल, अन्जन श्रेष्ठ, कुन्जेमाईला दरै, टिकानिधि बसौला, कुम्भ कुमारी गिरी, र अमृता कुमाल रहनुभएको छ। यसअघि रामबहादुर पाण्डेलाई पनि सोही कार्यक्रमअन्तर्गत ह्विलचियर वितरण गरिएको थियो।
ह्विलचियर प्राप्त गर्नुभएको अमृता कुमालले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो दैनिक जीवन सहज बनाउने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले सहयोगी दाताहरू तथा धादिङ नेपाली समाज अमेरिकाप्रति आभार व्यक्त गर्नुभयो ।

यस्ता सहयोगले अपाङ्गता भएका नागरिकहरूको आत्मविश्वास र जीवनस्तर उकास्न ठूलो योगदान पुग्ने बताउनुभयो। यसअघि पनि रुवालीको पहलमा न्यानो कपडा वितरण, क्यान्सर पीडितलाई आर्थिक सहयोग र विपन्न बालबालिकालाई शैक्षिक सहयोगजस्ता विभिन्न सामाजिक कार्यहरू सञ्चालन हुँदै आएका छन् ।व्यक्तिगत स्तरबाट आठ वटा आधुनिक विद्युतीय ह्विलचियर वितरण धादिङमा पहिलोपटक गरिएको हो। समाजसेवी तथा धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष रुवालीले पठाउनु भएको शुभकामना कार्यक्रम संचालक,पत्रकार तथा अन्तराष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष रामकुमार थापाले वाचन गर्नुभएको थियो ।

यसैगरी अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष तथा युवा समाजसेवी राजन खकुरालले शुभकामना शन्देश पठाउदै आगामी दिनमा पनि परदेशमा बस्ने धादिङ्गेलीहरु मिलेर सामाजिक काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले प्राप्त भएको ह्विल चियरको सहि प्रयोग गरेर जीवनलाई गतिशिलत प्रदान गर्ने भन्दै सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्नुभएको छ। गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको अध्यक्षतामा सम्पन्न भएको वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।