धादिङमा २ जना पहिरोमा पुरिए, एक बालिका खोलाले बगाएर बेपत्ता

शनिबार, आश्विन १२, २०८१

theme

 धादिङ —धादिङको मलेखु खोलामा माछा मार्न गएका बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएका छन् ।
लगातार वर्षा भइरहेको बेला खोला बढेपछि नजिकै रहेको ओढारमा ओत लाग्ने क्रममा पहिरो खस्दा पहिरोमा परेर चेपाङद्वय बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी डिल्लीराज पाण्डेले बताउनु भयो।

नदीमा माछा मार्न जान लागेका उनीहरू निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाँडामा रहेको ओडारमा बस्दा पहिरोले पुरिएका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर उनीहरूको खोजी गरिएको भए पनि नभेटिएपछि उद्धार टोली शनिबार बिहानबाट खोजीलाई निरन्तरता दिन राति अबेर फर्किएको छ ।
यता धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ७ र ८ को बीचमा पर्ने घट्टेखोलाले बगाउँदा दोभान खर्ककी ६ वर्षीया सइरा तामाङ बेपत्ता भएकी छन् । खोलाले बालिकासहित उनकी हजुरआमा ठूलीमाया तामाङ र मोटरसाइकल चालक स्थानीय राजकुमार तामाङलाई पनि बगाएकोमा उनीहरू भने पौडिएर जोगिन सफल भएका थिए । मोटरसाइकलसहित बालिकालाई खोलाले बगाएको ८ नम्बर वडाका वडाध्यक्ष देवराज ओझाले बताएउनु भयो। बेपत्ता बालिकाको राति अबेरसम्म खोजी प्रयास गरे पनि फेला नपरेको र खोलामा पानीको बहाव बढेका कारण अहिले खोजीकार्य स्थगित गरिएको थियो ।
लगातारको वर्षाका कारण संघीय राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा ठाउँठाउँमा गएको पहिरोले दिनभर अवरोध बनेको थियो । धादिङको धुनीबेँसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा खण्ड राति ९ बजेसम्म पूर्णरूपमा अवरुद्ध भएको थियो । लगातारको वर्षासँगै सडक छेउमा आएको पहिरोको लेदोका कारण सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका थिए । राति अबेर गरी लेदो पन्छाइए पनि वर्षा निरन्तर भइरहेकाले सवारी आवागमन प्रभावित छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :