मेलमिलाप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

शनिबार, मंसिर १, २०८१

theme

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल (NRCTC-Nepal) को आयोजनामा मेलमिलाप सम्बन्धी ८ दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम होटल अर्याल नयाँबानेश्वर काठमाडौंमा सम्पन्न भएको छ । २०८१ कार्तिक २४ गते देखि प्रारम्भ भएको तालिम मंसिर १ गतेसम्म चलेको थियो । 

मेलमिलाप परिषद्ले स्वीकृत गरेको पाठ्यक्रममा आधारित भई सञ्चालन गरिएको तालिममा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक तथा मेलमिलाप परिषद्का सदस्य चुप बहादुर थापाले प्रमुख प्रशिक्षकको रुपमा सहजिकरण गर्नुभएको थियो ।

 

 

गुल्मी जिल्लाका जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री, गुल्मी जिल्ला लगायत देशका विभिन्न पालिकाका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरु अधिवक्ता लगायत विभिन्न निकाय र संघ संस्थाबाट प्रतिनिधित्व गरेका २४ जना दिग्गज व्यक्तिहरुको तालिममा सहभागिता थियो । प्रमुख प्रशिक्षक चुप बहादुर थापासँगै प्रशिक्षकको रुपमा अधिवक्ता शुसिला सिंखडाले तालिमको सहजिकरण गर्नुभएको थियो भने अतिथि प्रशिक्षकका रुपमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोख्रेल, सहरजिष्ट्रार अशोक कुमार क्षेत्री र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अधिवक्ता दिपकराज भट्ट लगायतले प्रशिक्षण दिनुभएको थियो ।

 


प्राकृतिक श्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक तथा मेलमिलाप परिषद्का सदस्य चुप बहादुर थापाको अध्यक्षता र सर्वोच्च अदालतका रजिष्ट्रार तथा मेलमिलाप परिषद्का सदस्य सचिव बिमल पौड्यालको प्रमुख आतिथ्यतामा मेलमिलाप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको आठौ दिन तालिम समापन कार्यक्रम सञ्चालन गरिएको थियो ।

 

 

कार्यक्रममा सहभागीको तर्फबाट जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री र नवदुर्गा गाउँपालिका डडेलधुराका उपाध्यक्ष निर्मला कुमारी विष्टले तालिमको समिक्षासहित मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त समापन कार्यक्रमका अवसरमा आफ्नो मन्तव्य राख्नुहुदै प्रमुख अतिथिले नेपालमा मेलमिलाप पद्धति, प्रक्रिया, मेलमिलाप अभियान, विद्यमान कानूनी व्यवस्था र व्यवहारिक अभ्यासका सम्बन्धमा जानकारी गराउँदै विवाद समाधानका वैकल्पिक उपाय मेलमिलाप प्रक्रियालाई अझै बढी व्यवस्थित र प्रभावकारी तुल्याउन सरोकारवालाहरु बीच अवधारणागत स्पष्टता, समन्वय र सामूहिक प्रयास आजको आवश्यकता रहेको सम्बन्धमा प्रकाश पार्नुभयो ।

 

 

मन्तव्यको क्रममा उहाँले मेलमिलाप कार्यलाई अझै प्रभावकारी र व्यवस्थित तुल्याउँदै विवाद उत्पन्न भएकै स्थानमा व्यवस्थापन गर्न सकिएमा मात्र समाज र देशमा शान्ती सुव्यवस्था कायम गर्न सकिने विषयमा जोड दिदै तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभएको थियो । 

 

 

तालिम समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका आयोजक संस्थाका कार्यकारी निर्देशक चुप बहादुर थापाले संसारमा मानिसको शरीरका टुटेका अङ्गहरु सिलाएर जीवन बचाउने अस्पताल त थुप्रै बनेका छन् तर फाटेको मन सिलाएर जीवन बचाउने अस्पतालमा भने कसैको ध्यान नपुगेको, व्यक्तिगत स्वार्थ, स्रोत साधन माथिको पहुँच र नियन्त्रण तथा आपसी चाहनाहरु फरक हुन गई मन फाटेकै कारण घरपरिवार देखि सिङ्गो समाज विभाजित भएको, फाटेका मनको दरार बढ्दै जाँदा धेरैको जीवन समेत समाप्त भईरहेका घटनाहरु भएको, एउटा विषयलाई लिएर हुने सानो विवाद झाँगिदै गई अन्ततः हिंसात्मक रुप लिनुको साथै ठूलो धनजनको क्षति भएको विषयहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले तालिमबाट दिक्षित हुनुहुने सबै सहभागीहरुलाई मान्छेको जीवन बदल्दै समाजमा शान्ती, सुव्यवस्था ल्याउने अभियान मेलमिलाप जस्तो पुण्य कार्यमा जोडिनु भएकोमा बधाई तथा शुभकामना दिदै तालिम कार्यक्रमको समापन भएको घोषणा गर्नुभएको थियो ।

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
94%

0%

0%

6%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :