प्रकाशित: बिहीबार, असोज १३, २०७९

पाँच वर्षमा समुन्नत त्रिपुरासुन्दरी बनाउने लक्ष्य

abc

त्रिपुरासुन्दरी गाउँपालिका धादिङका अध्यक्ष राजु उप्रेतीले आफ्नो पाँच वर्षे कार्यकालमा त्रिपुरासुन्दरी गाउँपालिकालाई समुन्नत त्रिपुरासुन्दरी बनाउने लक्ष्यसाथ अगाडि बढेको बताउनु भएको छ । 
शिक्षा, स्वास्थ्य, कृषि, जलस्रोत, पर्यटन र पूर्वाधार; समुन्नत त्रिपुरासुन्दरीको मूल आधार भन्ने मूल नारालाई दीर्घकालीन सोच बनाएर त्रिपुरासुन्दरी गाउँपालिकाभित्र रहेको प्राकृतिक र अन्य स्रोत र साधनको समुचित र अधिकतम परिचालन गर्ने लक्ष्य राखेको उप्रेती बताउनु हुन्छ । कोखदेखि शोकसम्म स्थानीय सरकार भन्ने मूल नाराका साथ गर्भावस्थामा निशुल्क परीक्षण, सुरक्षित मातृत्वका लागि निशुल्क सुत्केरी घरदैलो सेवा निशुल्क खोप र पोषण भत्ता सहितको बालविकास, वृद्धा अवस्थामा ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको अध्यक्ष उप्रेतीको भनाइ रहेको छ । 
गरिबी, विपन्नता  र प्राकृतिक विपत्तिका कारण मृत्यु भएका नागरिकहरुलाई मृत्यु संस्कार खर्च उपलब्ध गराउंदै प्रविधिमा आधारित गुणस्तरीय शिक्षा ,भौतिक पूर्वाधार र अनुभवी चिकित्सक सहितको स्वास्थ्य सेवा ,कृषिको आधुनिकिकरण, पर्यटकीय क्षेत्रको प्रवर्धन र प्रचारप्रसार, घरेलु उद्योग तथा व्यवसायलाई सहजीकरण, सिपमुलक तालिम सहितको रोजगारी सिर्जना आम नागरिकलाई आत्मनिर्भर बनाउदै सामाजिक न्याय सहितको लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाज निर्माण गर्ने लक्ष्य राखेर गाउँपालिकाको नीति तथा कार्य योजना बनाइएको उप्रेतीले बताउनु भएको छ । 
सात वटा वडा रहेको गाउँपालिकामा देशकै ठूलो टारहरू मध्यको ठूलो टारको रूपमा रहेको सल्यानटार पनि यसै गाउँपालिकामा पर्दछ । उक्त टारलाई व्यवस्थित वस्ती विकासको रूपमा अगाडि बढाइने अध्यक्ष राजु उप्रेतीले गोरखापत्रसँगको कुराकानीमा बताउनु भएको छ । गाउँपालिकाभित्र रहेको प्राकृतिक स्रोतलाई अधिकतम उपयोग गरि गाउँपालिकाको पूर्वाधार विकास, सामाजिक विकास, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, जलस्रोत, पर्यटन क्षेत्रमा लगानी गर्दै समुन्नत त्रिपुरासुन्दरी निर्माण गर्ने अभियान शुरुवात भएको छ । उहाँले भन्नुभयो, नेपालको संबिधानले ग्यारेन्टी गरेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरूलाई माध्यमिक तहसम्मको शिक्षालाई पूर्ण रूपमा निःशुल्क गरिने छ । गाउँ कार्यपालिकाको कार्यालय मातहतको कार्यालयबाट प्रदान गरिने सार्बजनिक सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउनको लागि गाउँ कार्यपालिकाको कार्यालयमा नागरिक सहयोग कक्ष स्थापना गरि उक्त कक्षमा चौबीसै घण्टा हटलाइन टेलोफोन सेवा संचालन गरिने पनि बताउनु भएको छ । पालिकाभित्र संचालन हुने विकास निर्माणका कार्यहरूमा अनियमितता हुन नदिनको लागि उपभोक्ता समितिहरूलाई आबश्यक अभिमुखिकरण तालिमको व्यवस्था सहित पालिका स्तरबाट प्राबिधिक सहितको नियमित अनुगमनको व्यवस्था गरिने प्रतिबद्धता जनाउनु भएको छ । बिसलाखभन्दा माथिको आयोजनाहरूलाई ठेक्का प्रक्रिया मार्फत कार्य सम्पन्न गर्ने गरि कार्यपालिकाले निर्णय गरेको पनि बताउनु भयो । 
पालिकाभित्र रहेका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलहरू त्रिपुरा सुन्दरी माइ, त्रिवेणी धाम लगायतका स्थलहरुलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा प्रबर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पालिकाभित्र भित्राएर गाउँपालिकाको आर्थिक अबस्थालाई थप मजबुत बनाइने योजना रहेको छ । त्रिपुरासुन्दरी गाउँपालिका भित्रका नागरिकहरू मध्ये अधिकांश नागरिकहरू कृषि पेशामा आवद्ध रहेकाले यहाँको भुगोल, मौशमी वातावरण, उत्पादनसिल माटोको अवस्थालाई अध्ययन गरेर कृषि क्षेत्रको आधुनिकिकरणमा विषेश जोड दिइने खालको कार्यक्रम तर्जुमा गरिने जानकारी दिनुभयो । 
पालिकाभित्रका जेष्ठ नागरिकहरूलाई प्रयोगशाला सहितको घरघरै स्वास्थ्यसेवा संचालन गरिने र गर्भवती तथा सुत्केरी महिलाहरूलाई आवश्यक परेको समयमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने पनि उहाँले बताउनु भयो । पूर्वाधार विकासतर्फ गाउँपालिका भित्रको सडक संजाल (च्यबम ऋयललभअतष्खष्तथ) अवधारणा अनुसार पालिकाभित्रको ७ वटै वडा कार्यालयहरूलाई समेट्ने गरि चक्रपथ सहितको कालोपत्रे सडकको सडक संजाल निर्माण कार्यको शुरुवात यसै वर्षबाट शुरु गरिने जानकारी दिनुभयो ।
गाउँपालिका भित्र आपतकालिन उद्धारका लागि नाइटभिजन हेलिकप्टर अवतरण तथा उडानका लागि पनि आवश्यक कार्य गर्ने तयारी भएको जानकारी दिनुभयो । त्यस्तै विपदव्यवस्थापन तर्फ आफ्नो पालिका भित्र कुनैपनी समयमा आइपर्ने प्राकृतिक विपत्तिको सामना गर्न र आकस्मिक उद्धार गर्न पालिका कार्यालयमा सम्बन्धित शाखाको कर्मचारी सहितको उद्धारकार्यदल गठनगरी चौबिसै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । (अध्यक्ष राजु उप्रेतीसँगको कुराकानीमा आधारित)