प्रकाशित: असार १६ २०८१

केही सेन्टमै युरोपेली जमिनको प्लट बिक्रीमा !

abc

स्टकहोम । उत्तरी युरोपको मुलुक स्वीडेनमा जग्गाको प्लट बेच्न ल्याइएको एउटा स्किमले निकै चर्चा पाएको छ । प्रसंग हो, थोरै  सेन्टमै प्लटको बिक्रीको ।

योरटेन्ह स्वीडेनको राजधानी स्टकहोमबाट २०० माइल दक्षिण पश्चिममा पर्छ, त्यहाँ २९ प्लट जमिन एक क्रोना (नेपाली रुपैयाँ १२ रुपैया ५५ पैसा)मा बिक्री गर्ने भनिएको छ । अर्थात्, नौ अमेरिकी सेन्टमा प्रतिस्क्वायर मिटर (११ स्क्वायर फिट) बेचिने ।

यो कुनै भूभागको कुरा मात्र होइन, यो त्यस्तो भूभाग हो, जहाँ भाग्यमानी क्रेताले आफ्नो सपनाको घर बनाउन सक्छन् । बस्न सक्छन् । त्यसलाई ‘होलिडे होम’ बनाउन सक्छन् । मापदण्ड त्यस्ता तोकिएको छ ।

‘हिट वेभ’का कारण दक्षिणी युरोप हाल त्यति आकर्षित मानिँदैन । उनीहरूका निम्ति योरटेन्ह विकल्प हो । यो एउटा दुर्गम स्थान हो । जहाँ मुख्य सहरमा ५००० मानिस बसिरहेका छन् । नगरपालिकाभरिमा १३ हजार मानिस छन् ।

यो भेनर्न तालको किनारमा छ । यो स्वीडेनको मात्र होइन, स्क्यान्डेभिया र युरोपेली संघआबद्ध मुलुकमा रहेमध्येकै ठूलो ताल हो  । यो कन्स्टयान्स तालभन्दा १० गुणा ठूलो छ । युरोप महादेशमा रुसमा ठूला ताल पाइन्छ ।

पदयात्राका निम्ति योरटेन्हमा नजिकै किन्नेकुले हिमाल पनि छ । यसमा युनेस्कोले आफ्नो सूचीमा राखेका दुई साइट पनि छन्, प्लाटाबर्गन्स जिओपार्क र भनेर्न ताल तथा द्वीप र किन्नेकुल्ले पर्वत । यस्तो रमणीय स्थान किन यति सस्तोमा बिक्रीमा राखिएको छ त ?

स्थानीय मेयर जोहन मेन्सनका अनुसार, त्यहाँको अर्थतन्त्रमा आएको मन्दी र ग्रामीण जनसंख्या घट्दै गएको संयोजनका रूपमा यसो गर्नुपरेको हो ।

उनले हाउजिङको मार्केट अहिले यो क्षेत्रमा मात्र होइन, आम रूपमा स्वीडेनमा नै उच्च ब्याजदर र मन्दीका कारण ज्यादै सुस्त छ । “त्यसैले हामी मार्केटमा इन्जेक्सन दिन चाहन्छौँ,” उनले भनेका छन् ।

आफूहरूले कम जन्मदर र वृद्धावृद्धाको जनसंख्या देखिरहेकाले कसैगरी यहाँ जनसंख्या बढाउन चाहेको उनको भनाइ थियो । उनले तोकिएका प्लट टोकन फी लिएर बेच्ने निर्णय गरिएको बताए । कैयौँ वर्षदेखि मार्केटमा ती बिक्न सकेका थिएनन् ।

“असाधारण अवस्थाका लागि असाधारण मापदण्ड अपनाउनुपर्ने भएकाले यो काम गरिएको हो । अहिले यो ‘सेन्सेसन’ भएको छ । यसलाई के भन्ने म जान्दिनँ,” उनले भने ।

उक्त स्किम गएको महिना ल्याइएकामा अहिलेसम्म ३० जनाले किन्न चासो देखाएका छन् । म्यान्सनले चारजनाले एक क्रोना प्रतिस्क्वायर मिटरको मूल्यमा प्लट किनेका बताए ।

उनका अनुसार, प्लटको आकारको दायरा ७०० देखि १,२०० स्क्वायर मिटर छ । त्यसपछि कुरा अर्कै भयो । यो विषय ‘भाइरल’ भएपछि  स्किम ल्याउनेको टेलिफोन एक्सचेन्जमा हजारौँले अनुरोध गरेका छन् ।

“सिटी हलको हाम्रो फोन एक्सचेन्जमा दुई मानिस राखिएका छन् । उनीहरू पछिल्ला केही दिनदेखि पसिनापसिना भएका छन् । हामी आधारभूत रूपमा अहिले संकटको अवस्थामा पुगेका छौँ,” मेयरले भने ।

उनका अनुसार, अप्रत्यासित रूपमा अहिले संसारभरिबाट त्यहाँ फोन आइरहेका छन् । अधिकारीहरूले ‘बिडिङ’ प्रक्रिया आउँदो अगस्टको सुरुसम्मका निम्ति रोकेका छन् । त्यसपछि कसरी अघि बढ्ने भनेर मापदण्ड बनाइनेछ । सीएनएनबाट ।