सिट बाँडफाँटमा सत्ता गठबन्धनमा किचलो

  • this is image भ्वाइस अफ धादिङ
  • आईतबार, असोज १६, २०७९

theme

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँडमा किचलो देखिएपछि एमालेले पनि टिकट वितरणमा पर्ख र हेरको नीति अख्तियार गरेको छ । सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी (एस) पार्टी र जसपा असन्तुष्ट रहेपछि एमालेले पनि पर्ख र हेरको नीतिमा रहेको छ । 

एस पार्टीले चाहेजस्तो नभएपछि पार्टीका उपमहासचिव जगन्नाथ खतितवडा लगायतका नेताहरु असन्तुष्ट रहेको थाहा पाएर एमालेले केही निश्चित स्थान खाली राखेको छ । काठमाडौ क्षेत्रं नं –२ मा पनि माधवकुमार नेपालका दाहिना हात मानिने कृष्णहरि थापाले पनि एस पार्टी त्यागेको अवस्थालाईसमेत मध्यनजर गरेर एमालेले सत्ता गठबन्धनमा सिट बाँडफाँटको मुड हेरेर मात्रै विभिन्न दलसँग चुनावी तालमेल वा टिकट वितरण गर्ने अवस्थामा पुगेको हो ।

यतिबेला एमालेसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपा, राप्रपा नेपाल, जनमत पार्टी, हृदयश त्रिपाठी र नेपाली कांग्रेस बीपीसहितका दल एमालेसँग तालमेलका लागि तयार भए पनि गठबन्धनको सिट बाँडफाँटलाई ध्यानमा राखेको स्रोतको दाबी छ । 

टिकट वितरणकै क्रममा एमालेले विभिन्न नेतामार्फत् अन्य दलसँग संवाद गरिरहेको छ । तर चुनावी तालमेल, सिट संख्याबारे निर्णय गर्न अझै केही दिन लाग्ने भएकाले त्यस बारेमा बाहिर कुनै पनि धारणा सार्वजनिक गरिएको छैन । 

गठबन्धनभित्र प्रतिनिधि सभा र प्रदेश सभा सिट भागबण्डामा सहमति नजुटे त्यस्ता पक्षलाईसमेत सहभागी गराउने एमालेले योजना बनाएको स्रोतको दाबी छ ।

अहिलेसम्म गठबन्धन दलभित्र जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले सिट बाँटफाँडप्रति चित्त बुझाएका छैनन् । एमालेले राजनीतिमा देखिएका यिनै परिदृश्यको विश्लेषण गरेर मात्र दलहरुसँगको तालमेल निर्णय गर्न लागेको हो । 

राप्रपाका एक पदाधिकारीका अनुसार एमालेसँग चरण चरणमा वार्ता भए पनि अहिलेसम्म निर्णय भइसकेको छैन । समानुपातिक सूची फाइनल गरेपछि मात्रै टुंगो लगाउने तयारी गरेको छ ।

‘लोसपा र एमालेबीच पनि चुनावी तालमेल गर्ने निर्णय भइसकेको छ। तर, सिट संख्याबारे निर्णय भएको छैन’, एमाले स्रोतले भन्यो । एमाले अध्यक्ष ओलीको समय नमिलेका कारण लोसपा अध्यक्षको भेटघाट हुन नसकेकाले १५ गतेसम्म कुराकानी नभएको संभवत १६ गते साँझ लोसपा अध्यक्षसँग भेटघाट हुनसक्ने संभावना रहेको एमाले निकट एक नेताले भने । 

बिहीबार बसेको एमाले सचिवालय बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो २२ असोजभित्र लगाउने निर्णय गरेको थियो । त्यसको मुख्य कारण भनेकै गठबन्धन कुरेको अर्का नेताले दाबी गरेका छन ।

 ‘एमालेले पाँच दलीय गठबन्धनको असन्तुष्ट पक्षलाई आफूतिर तान्न सकिन्छ भनेर कुरेको जस्तो देखिन्छ, त्यही भएर समय लागिरहेको छ,’ ती नेताको दाबी छ । एमालेले अन्य पार्टीसँगको सहकार्यलाई यथावत राख्ने तथा मत र सिट बढाउन आन्तरिक शक्ति सुदृढ गर्ने, गठबन्धनको असन्तुष्टिमा खेल्ने, मधेसमा ध्यान दिने र लोसपा–राप्रपासँग तालमेल गर्ने रणनीति अघि सारेको स्रोतको दाबी छ । 

एमालेले तालमेल केन्द्रस्तरमा नभई जिल्ला तहमा मात्र हुने यसअघि भनिसकेकाले जिल्लालाई केन्द्रीत गरेर अघि बढ्ने बताइएको छ । गत स्थानीय निर्वाचनको तुलनामा १६ प्रतिशत मत बढाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पहिलो शक्ति बन्ने महत्वाकांक्षी लक्ष्य राखेको एमालेले त्यसैअनुसारको रणनीति बनाई सम्पूर्ण शक्ति मत र सिट वृद्धिमा केन्द्रित गरेको छ ।

पाँचदलीय गठबन्धनका कारण भने एमाले स्थानीय निर्वाचनमा जस्तै दबाबमा छ । पार्टी अध्यक्ष ओलीको चाहनाअनुसार समानुपातिक र प्रत्यक्षमा टिकट बाँडफाँट गरेर आन्तरिक असन्तुष्टि ‘व्यवस्थापन’ गर्ने रणनीति लिएको भएपनि केही स्थानमा असन्तुष्टि कायमै रहने अवस्था छ ।

 

छुटाउनुभयो कि ?