नेपाली विद्यार्थी समाज, दक्षिण कोरियाको आयोजनामा ‘सोनसिक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’

  • this is image भ्वाइस अफ धादिङ
  • सोमबार, असार १० २०८१

theme

काठमाडौँ । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले आफ्नो २०औँ स्थापना दिवसको अवसरमा ‘सोनसिक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन २०२४’ सम्पन्न गरेको छ।

सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तरविषयगत नवप्रवर्द्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक भन्ने विषयवस्तुलाई मुख्य आधार मानेर आयोजना गरिएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गत जुन १५ र १६ मा दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा सम्पन्न भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको प्रमुख अतिथ्यता (भर्चुअल), नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, कोरियाका लागि मिसन उपप्रमुख पुष्पराज भट्टराई, एनआईआईईडी टीम लिडर किन ना यून को विशिष्ट अतिथ्यता, विभिन्न क्षेत्रका विज्ञ, वैज्ञानिक, तथा शिक्षा र अनुसन्धान क्षेत्रका विशिष्ट व्यक्तिहरू लगायत दुई सय भन्दाबढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

उद्घाटन सत्रलाई विशेष सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कोरिया लगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरूलाई एक हुन सम्मेलनले ठूलो भूमिका खेलेको र यस्ता प्रकारका सम्मेलनहरू नेपालमै गर्नको लागि प्रस्तावना लिएर आउन अनुरोध गर्दै आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गरिन् ।

विश्वभर छरिएर रहेका नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई राष्ट्रप्रति थप जिम्मेवार बन्दै शिक्षाको आधुनिकीकरणमा वैदेशिक शैक्षिक संस्था तथा नीतिगत तहबाट समन्वयन र सहकार्य गरी आफूलाई सहयोग गर्न पनि उनले अपिल गरिन् ।

छुटाउनुभयो कि ?