मध्य कालीगण्डकीलाई नौ अर्ब लगानी जुट्यो

  • this is image भ्वाइस अफ धादिङ

theme

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । 

आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव ३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंकको अगुवाइमा ६ वाणिज्य बैंकले नौ अर्ब १२ करोड लगानी गर्ने भएका हुन् ।

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको बाँध अन्नपूर्ण–३ सुकेबगरमा र विद्युत् गृह अन्नपूर्ण–२ ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको छ । चार हजार सय मिटर सुरुङ रहने यस आयोजनाको विद्युतगृहदेखि फोरवेको उचाइ ११५ मिटर हुनेछ । 

केही दिनअघि नबिल बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापनको सम्झौता भएको मध्य कालीगण्डकीको पूर्वाधार निर्माणको तयारी गरेको आयोजना प्रमुख चन्द्र ढकालले जानकारी दिए । सन् २०२४ मा भौतिक निर्माण सुरु हुने आयोजना चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समूहका अध्यक्ष समेत रहेका ढकाल र बैंकहरुको तर्फबाट सहवित्तीयकरणको नेतृत्व गरेको नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका थिए । 

कूल १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत लगानी नबिलसहित एभरेस्ट बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले गर्ने भएका छन् । २५ प्रतिशत प्रवर्द्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ । 

नबिल बैंकले तीन अर्ब १२ करोड, एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले दुई/दुई अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले एक/एक अर्ब लगानी गर्नेछन् ।

छुटाउनुभयो कि ?